डा. निर्मलमणि अधिकारी
मीमांसा दर्शनको सञ्चारशास्त्रीय सान्दर्भिकताको सवाललाई यसमा अन्तर्निहित योग्यता (intrinsic qualification) साथै यसको समकालीन औचित्य (Contemporary significance) का विभिन्न आयामका आधारमा विमर्श गरिएको छ ।
(क) अन्तर्निहित योग्यता
आधुनिक सञ्चारशास्त्रको मानकअनुसार सञ्चारसिद्धान्तका आधारभूत सरोकार मानिने पक्षहरू (जस्तै ः शब्द, शब्दको अर्थ, शब्द र अर्थबीचको सम्बन्ध एवं ज्ञाता, ज्ञेय, ज्ञानका साधन र ज्ञातता) बारे भाट्ट–मीमांसा–दर्शनमा विशद् विवेचना गरिएको छ । मीमांसा दर्शनमा चिन्तन गरिएको ‘प्रमा’को अवधारणा र ‘इन्फर्मेसन’ (सूचना) को अवधारणाबीच समानता रहेको छ । वैध ज्ञान ९खबष्मि पलयधभिमनभ० प्राप्त गर्ने विभिन्न सिद्धान्तहरूलाई समेट्दै कुमारिलले प्रस्तुत गरेको सिद्धान्तले ज्ञान वा सूचना प्राप्त गर्ने छवटा विधि वा प्रक्रियाहरू (दर्शनशास्त्रीय संज्ञामा प्रमाणहरू) सहितको नयाँ सञ्चार सिद्धान्तको संकथनलाई अगाडि बढाएको छ ।
प्रतीकको उत्पादन, प्रशोधन र प्रभाव तथा संकेत प्रणाली नै सञ्चारको अध्ययनको अभीष्ट भएको एवं यसमा अर्थहरू कसरी व्यवस्थापन गरिन्छन् भन्ने नै मूलतः अध्ययन गरिने तथ्यलाई साधारणतया मीमांसा दर्शनमा र विशेषतया भाट्ट–मीमांसा–दर्शनमा भाषाको प्रयोगका विधि र प्रयोजनबारे साथै ज्ञाता, ज्ञेय, ज्ञानका साधन र ज्ञातताबारे विशद् चिन्तन गरिएको हुनाले यस दर्शनको सञ्चारशास्त्रीय सान्दर्भिकताको अन्तर्निहित योग्यता स्वतः प्रकाशित हुन्छ ।
हिन्दू जीवनपद्धतिमा व्यावहारिक वा लौकिक सन्दर्भमा भाट्टमतलाई नै आधिकारिक मानिएको हुनाले हिन्दू सामाजिक सन्दर्भमा सञ्चार व्यवहारलाई बुझ्न एवं यथार्थवादी र व्यावहारिक सिद्धान्त निरूपण गर्नका निमित्त यसको अध्ययन आवश्यक देखिन्छ ।
त्यस्तै हिन्दू दार्शनिक परम्पराका ज्ञानसिद्धान्तको संरचनामा आचार्य कुमारिल भट्टको मतको प्रभावलाई ख्याल राख्दा पनि सञ्चारको हिन्दू अवधारणात्मक सैद्धान्तिकरण गर्ने हो भने त्यस्तो सैद्धान्तिकरण भाट्टमीमांसा दर्शनको परिप्रेक्ष्यमा गर्नु आवश्यक हुन आउँछ । सञ्चारप्रक्रियाको अध्ययनका लागि हिन्दू शास्त्रीय ग्रन्थहरूको सान्दर्भिकता छ भन्ने तथ्य स्थापित भइसकेको छ । तर, मीमांसादर्शन सञ्चार अध्येताहरूले दृष्टिगोचर गर्न नसकेको क्षेत्र हो । यस दर्शनको अन्तर्निहित योग्यताका कारणले, मीमांसा दर्शनका आधारमा सञ्चारको सैद्धान्तिकरण एवं ढाँचा निर्माणको प्रयत्न हुनु स्वाभाविक देखिन्छ ।
(ख) नयाँ अन्तर्दृष्टि
पूर्व–अध्ययनहरूले के देखाएका छन् भने सञ्चारको दृष्टिबिन्दुबाट वैदिक हिन्दू दर्शन, सिद्धान्त एवं ग्रन्थहरूको अध्ययन गरिँदा त्यसले सञ्चारको अध्ययन एवं सैद्धान्तिकरणमा विशिष्ट योगदान पुग्न गएको छ । यस्तो पृष्ठभूमिमा, सामान्यतः मीमांसा दर्शन एवं विशेषतः मीमांसा दर्शनको भाट्टमतलाई पनि सञ्चारको दृष्टिबिन्दुबाट अनुसन्धान गरिँदा सञ्चारको अध्ययन एवं सैद्धान्तिकरणका लागि नयाँ अन्तर्दृष्टि प्राप्त हुने आँकलन गर्नु समीचीन ठहर्छ । यस सम्भावनाका आलोकमा मीमांसा दर्शनका आधारमा सञ्चारको सैद्धान्तिकरण एवं ढाँचा निर्माणको प्रयत्न हुनु औचित्यपूर्ण देखिन्छ ।
(ग) मौलिक सांस्कृतिक सैद्धान्तिकरण
“संस्कृति नै सञ्चार हो” भन्ने निष्कर्षले अनेक संस्कृति–विशेषहरूका सापेक्षतामा सञ्चारको मौलिक सैद्धान्तिकरणको आवश्यकतालाई पृष्ठपोषण गर्छ । भारतवर्षीय÷हिन्दू संस्कृतिका परिप्रेक्ष्यमा सञ्चारको अध्ययन एवं सैद्धान्तिकरण गर्ने हो भने उपर्युक्त अध्ययन एवं सैद्धान्तिकरणलाई भारतवर्षीय सामाजिक एवं राजनीतिक सिद्धान्तभित्र स्थापित गर्नु आवश्यक हुन्छ । प्रमाणशास्त्रमा कुमारिलको आधिकारिकता एवं “व्यवहारे भाट्टनयः”को स्वीकार्यतालाई ख्याल राख्दा भारतवर्षीय÷हिन्दू संस्कृतिका परिप्रेक्ष्यमा मौलिक सांस्कृतिक सैद्धान्तिकरण गर्दा भाट्ट–मीमांसा–दर्शन एक स्वाभाविक चयन हो भन्ने देखिन्छ ।
(घ) सांस्कृतिक पहिचान सचेतना
सांस्कृतिक पहिचान सचेतता एवं सांस्कृतिक पहिचानको राजनीति समकालीन वैश्विक समाजको जागतिक यथार्थ हो । सांस्कृतिक पहिचान सचेतताले सञ्चारको हिन्दू वा भारतवर्षीय अध्ययन एवं सैद्धान्तिकरणलाई आवश्यक एवं अपरिहार्य त ठहर्याउँछ नै, उपर्युक्त उपागमका लागि चयन गरिने स्रोतको मौलिकता एवं आधिकारिकताको पक्षलाई पनि उत्तिकै जोड दिन्छ ।
वैदिक चिन्तनको मूलधारमा प्रतिष्ठित भएकाले साधारणतः मीमांसा दर्शन र विशेषतः भाट्टमतले भारतवर्षीय÷हिन्दू समाजका दार्शनिक परम्पराको मौलिकता एवं आधिकारिकतालाई सुनिश्चित गर्छ । तसर्थ, सांस्कृतिक पहिचान सचेतताका आलोकमा सञ्चारको अध्ययन एवं सैद्धान्तिकरणका लागि योग्यता एवं सान्दर्भिकताको कसीमा मीमांसा दर्शनको भाट्टमत उपयुक्त ठहर्छ ।
(ङ) प्रतिपश्चिमीकरण
सञ्चारको अध्ययन एवं सैद्धान्तिकरणका क्षेत्रमा विद्यमान पश्चिमा प्रतिमानको एकाधिकारलाई हटाई सञ्चारलाई सही अर्थमा बहुसांस्कृतिक, बहुविधात्मक एवं बहुदृष्टिकोणात्मक विधाका रूपमा विकास गर्नका लागि प्रतिपश्चिमीकरण ९म्भ(ध्भकतभचलष्शबतष्यल० अनिवार्य भएको मान्यता अगाडि आएको छ ।
प्रतिपश्चिमीकरणलाई पृष्ठपोषण गर्ने र सञ्चारलाई सही अर्थमा बहुसांस्कृतिक, बहुविधात्मक एवं बहुदृष्टिकोणात्मक विधाका रूपमा विकास गर्नका लागि योगदान दिने भएकाले पनि भाट्ट–मीमांसा–दर्शनको सञ्चारशास्त्रीय सान्दर्भिकता थप प्रष्ट हुन्छ ।
(च) दार्शनिक आधार
कुनै पनि संस्कृतिसँग सम्बद्ध सञ्चारीय आचरणलाई बुझ्न उक्त संस्कृतिको दार्शनिक आधारको अनुसन्धान गर्नु आवश्यक मानिएको छ । हिन्दू समाजका परिप्रेक्ष्यमा सञ्चारको अध्ययन गर्नका लागि हिन्दू संस्कृतिको दार्शनिक आधारसम्म पुग्नु जरुरी ठानिएको छ । हिन्दू संस्कृतिको दार्शनिक आधार धर्म नै मानिएको हुनाले भाट्ट–मीमांसा–दर्शनको सञ्चारशास्त्रीय सान्दर्भिकता अझै प्रष्टिन्छ, किनभने धर्मजिज्ञासा नै मीमांसाको मुख्य अभीष्ट रहेको छ र यस मामिलामा भाट्टमतको आधिकारिकता मान्य छ ।
(छ) बहुविधात्मकता
सञ्चार सिद्धान्त अझै विकासको समाकलन चरणमा रहेको हुनाले सञ्चारलाई यसले प्राप्त गर्न सक्नेजति सबै सैद्धान्तिकरण आवश्यक छ । वास्तवमा सञ्चार एक बहुविधात्मक उपागमका रूपमा रहेको भन्ने मान्यता स्थापित भइसकेको छ । प्रस्तुत अनुसन्धानजस्तो सञ्चार र दर्शनशास्त्र संलग्न अन्तर्विधात्मक अध्ययनले सञ्चारको बहुविधात्मकतालाई थप समृद्ध बनाउँछ । तसर्थ, सञ्चारको बहुविधात्मक प्रकृतिले पनि भाट्ट–मीमांसा दर्शनको सञ्चारशास्त्रीय सान्दर्भिकतालाई नै पुष्टि गर्छ ।
(ज) बहुसांस्कृतिकता
सञ्चारको अध्ययन एवं सैद्धान्तिकरणमा बहुसांस्कृतिकतालाई अनिवार्य मानिएको छ । त्यसैले सञ्चार विधालाई सबै संस्कृतिमा आधारित सञ्चार प्रणालीहरूको व्यापक विवरण, अर्थापन र मूल्यांकन प्रदान गर्नु आवश्यक रहेको तथा बहुसांस्कृतिक सञ्चार अवधारणाहरू अगाडि ल्याउनु र अन्तर्राष्ट्रियस्तरमा व्यापक साझेदारी गर्नु पर्नेजस्ता मान्यता अगाडि आएका छन् । कुनै एउटै मात्र पनि सांस्कृतिक सञ्चार प्रणालीलाई बेवास्ता गर्नुको अर्थ विचारहरूको भण्डार गुमाउनु र संसारलाई हेर्ने एक पृथक् तरिकालाई बेवास्ता गर्नु हो र यसले सञ्चार विधालाई घाटा पुर्याउँछ ।
त्यस्तो घाटाबाट बच्न सञ्चारको सैद्धान्तिकरणमा बहुसांस्कृतिकतालाई स्वीकार्नै पर्छ भने बहुसांस्कृतिक समृद्धिको सुनिश्चितताका लागि सर्वप्रथमतः बहु–संस्कृतिभित्रका घटक संस्कृतिहरूका परिप्रेक्ष्यमा सैद्धान्तिकरण आवश्यक हुन आउँछ । अर्थात्, सञ्चार सिद्धान्तमा बहुसांस्कृतिकतालाई मूलधारमा ल्याउन र दिगो राख्नका लागि बढीभन्दा बढी संस्कृतिसापेक्ष सञ्चार–सैद्धान्तिकरणलाई बढावा दिनु पर्ने हुन्छ ।
सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक अध्ययनले सञ्चारको हिन्दू अवधारणात्मक अध्ययन एवं सैद्धान्तिकरणमा प्राथमिक योगदान दिनुका साथै अन्ततोगत्वा सञ्चारको बहुसांस्कृतिक समृद्धिका लागि पनि योगदान पुर्याउने हुनाले भाट्ट–मीमांसा–दर्शनको सञ्चारशास्त्रका लागि ठूलो सान्दर्भिकता रहेको छ ।
(झ) तुलनात्मक अध्ययनको प्रबद्र्धन
अन्तरसांस्कृतिक समझदारीका लागि विभिन्न सांस्कृतिक पृष्ठभूमिका सञ्चार सिद्धान्तहरूको तुलनात्मक अध्ययन आवश्यक हुन्छ । सञ्चार सिद्धान्तका अनेक परम्पराहरूबीच संवाद र बहसलाई प्रबद्र्धन गरेर मात्र सञ्चार सिद्धान्तले बौद्धिक संगति पाउन सक्छ । तसर्थ, सांस्कृतिक मौलिकतापूर्ण सञ्चार सिद्धान्तहरूबीच तुलनात्मक अध्ययनलाई प्रबद्र्धन गर्नु वाञ्छनीय छ ।
पश्चिमा सन्दर्भमा धेरैवटा सञ्चार सिद्धान्त एवं ढाँचाहरू बनेका, तर गैरपश्चिमा सन्दर्भमा अद्यापि ‘सञ्चार सिद्धान्तको दरिद्रताको अवस्था’ विद्यमान रहेको अवस्थाले तुलनात्मक अध्ययनको दायरा विस्तृत हुन सकेको छैन ।
सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक अध्ययनको फलस्वरूप अभिनिर्मित हुने सञ्चार सिद्धान्त एवं ढाँचाले त्यस्तो तुलनात्मक अध्ययनको दायरालाई वृद्धि गर्छ । सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक अध्ययनको फलस्वरूप अभिनिर्मित हुने सञ्चार सिद्धान्त एवं ढाँचाले तुलनात्मक अध्ययनको दायरालाई वृद्धि गर्ने हुनाले पनि भाट्ट–मीमांसा–दर्शनको सञ्चारशास्त्रका लागि समकालीन औचित्य प्रष्टिन्छ ।
आधुनिक सञ्चारशास्त्रको आलोकमा भाट्टमतको अन्वेषण एवं भाट्टमतको दृष्टिबिन्दुबाट सञ्चारको अध्ययनले ज्ञानका यी दुवै क्षेत्रलाई लाभ हुने विश्लेषण गरिएको छ । आधुनिक सञ्चारशास्त्रको आलोकमा भाट्टमतको अन्वेषणले कुमारिल भट्टजस्ता महान् दार्शनिकका चिन्तनको पुनर्सान्दर्भिकरण भई त्यसको नित्य–नवीनता प्रकाशित हुन आउँछ र ज्ञानका अन्य क्षेत्रमा पनि भाट्ट–मीमांसा–दर्शनको प्रासंगिकता अन्वेषण गर्नका लागि यसले उत्प्रेरणा प्रदान गर्न सक्छ ।
भाट्टमतको दृष्टिबिन्दुबाट गरिने सञ्चारको अध्ययन एवं सैद्धान्तिकरणले सञ्चार विधालाई नयाँ अन्तर्दृष्टि प्रदान गर्ने एवं सञ्चार सिद्धान्तको बहुसांस्कृतिक (multicultural) , बहुविधात्मक (multidisciplinary) एवं बहुप्रतिमानात्मक (multi-paradigmatic) विकासमा योगदान दिने देखिन्छ ।
सन्दर्भ सामग्री
अधिकारी, निर्मलमणि (वि.सं. २०६२) । मीमांसा दर्शन निर्देशन । काठमाडौं ः प्रशान्ति पुस्तक भण्डार ।
अधिकारी, निर्मलमणि । वि.सं. २०६९क । सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक अध्ययन । विद्यावारिधि शोधप्रबन्ध । वसन्तपुर, काठमाडौं ः
नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र ।
अधिकारी, निर्मलमणि । वि.सं. २०६९ख । भाट्ट–मीमांसा दर्शनको सान्दर्भिकता ः आधुनिक सञ्चारशास्त्रीय परिप्रेक्ष्य । दर्शन–दृष्टि, १(२), ३—४, ३३ ।
अधिकारी, निर्मलमणि । वि.सं. २०६९ग । मीमांसा दर्शनको भावना सिद्धान्त । मधुपर्क, ४५(६), ३४—३७ ।
न्यौपाने, काशीनाथ (सन् १९९४) । मीमांसा पदार्थ विज्ञानम् । वाराणसी ः दिलीप कुमार पब्लिशर्स ।
न्यौपाने, काशीनाथ (वि.सं. २०५६) । मीमांसातर्कभाषा । काठमाडौं ः जयतु संस्कृतम् ।
पाण्डेय, कपिलदेव (सन् २००१) । मीमांसान्यायप्रकाश विमर्श । वाराणसी ः सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।
भट्ट, कुमारिल (सन् १९८३) । श्लोकवार्तिक । अनु. गङ्गानाथ झा । दिल्ली ः श्री सत्गुरु पब्लिकेशन्स ।
भट्ट, कुमारिल (सन् १९९८) । तन्त्रवार्तिक । अनु. गङ्गानाथ झा । दिल्ली ः पिल्ग्रिम्स बुक्स ।
भट्टराय, चूडानाथ (वि.सं. २०३१) । मीमांसा मयूख । काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
मिश्र, गङ्गाधार । सन् २००५ । श्रीमत्कृष्णयज्वप्रणीता मीमांसा परिभाषा । वाराणसी ः चौखम्भा पब्लिशर्स ।
मिश्र, पार्थसारथी (सन् १९१५) । शास्त्रदीपिका । बम्बई ः निर्णयसागर प्रेस ।
योगीन्द्रानन्द, स्वामी । सन् १९९६ । नारायणद्वयी प्रणीतः मानमेयोदयः । वाराणसी ः चौखम्बा विद्याभवन ।
शास्त्री, उदयवीर (सन् २००३) । मीमांसा दर्शनम् । दिल्ली ः विजयकुमार गोविन्दराम हासानन्द ।
शास्त्री, दयाशङ्कर (सन् २००८) । लौगाक्षिभास्करकृतः अर्थसंग्रहः । वाराणसी ः चौखम्बा विद्याभवन ।
शास्त्री मुसलगाँवकर, गजानन (सन् १९९२) । मीमांसा दर्शनका विवेचनात्मक इतिहास । वाराणसी ः चौखम्बा विद्याभवन ।
0 comments:
Post a Comment