Thursday, October 1, 2015

PVP Nepal

नेपालको वर्तमान परिस्थिति मधेश आन्दोलन र नेपाल–भारतको सम्बन्धमा आइरहेका समस्याहरू प्रति प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । 
लामो समयको संक्रमण कालको अन्त्य संगै नेपालमा संविधान घोषणा हुनु अत्यन्त स्वागतपूर्ण कार्य र सुखद् क्षण हो । यो एउटा ऐतिहासिक एवं गौरवपूर्ण उपलब्धि हो । संविधान निर्माण प्रक्रियामा देशभरमा आ–आफ्ना माग÷मुद्दाहरूलाई नयाँ बन्ने संविधानमा सुनिश्चित गराउन विभिन्न क्षेत्र, समूह र संगठनहरूबाट आन्दोलनहरू भए र भइरहेका छन् । आन्दोलनमा उठाइएका सबैका यथोचित मागहरू सम्बोधन हुन पनि सकेनन् । मधेशका विभिन्न स्थानमा संविधान निर्माण प्रक्रिया सँगसँगै चलिरहेको निरन्तर लामो आन्दोलन, आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण दर्जनौँ नागरिक, सुरक्षाकर्मीको मृत्यु हुँदा सम्म प्रमुख दलले समस्या समाधान गर्नु भन्दा सबैको भावनालाई नसमेटी एकतर्फी रूपमा अगाडि बढ्नुले नेपालमा गम्भीर संकट उत्पन्न भएको छ । आफ्नै देशका नागरिकहरूद्वारा उठाइएका मागहरू कति ठीक छन् कति गलत छन् भनी बुझ्नु राजनीतिक नेतृत्वको कर्तव्य हो । आफ्नो घरमा उत्पन्न भएको समस्यालाई उचित सम्बोधन गरी समाधान गर्न नसक्नु नेपाली राजनीतिज्ञहरूको अदूरदर्शी व्यवहार र कूटनीतिक असफलताको कारण हो भन्ने प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको ठहर छ । 
नेपाल एउटा परिवार हो, हिमाल, पहाड र मधेशमा बस्ने सबै जनता नेपाल आमाका सन्तानहरू हुन्, परिवारको कुनै एक सदस्यलाई पीडा हुँदा सिंगो परिवार नै पीडा र दुःखमा डुबेको हुन्छ, अहिले हामी सम्पूर्ण नेपालीको अवस्था पनि त्यही हो । सहज संवाद र वार्ताको माध्यमबाट मधेश आन्दोलनले उठाएका उचित मागको सम्बोधन गर्दै र यदि कुनै त्यस्ता राष्ट्रघाती एवं गलत मागहरू छन् भने तिनीहरूको पनि कारण सहित पत्तो लगाई सबैलाई चित्त बुझाएर निषेध गर्ने दिशातर्फ अगाडि बढ्दै लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले समस्याको समाधान गर्नु दीर्घकालिन समाधान हो । साथै आन्दोलनरत दल एवं पक्षलाई पनि परिषद् यो आग्रह गर्दछ कि अविलम्ब वार्तामा बसी संवादद्धारा समस्याको समाधान गरी तराई मधेशमा भइरहेको बन्दलाई खुलाई त्यहाँको  जनजीवनलाई सामान्य बनाउनु हुन विन्रम अनुरोध गर्दछौं । त्यस पछि सबै राजनीतिक दलका वरिष्ठ नेताहरूलाई परिषद् यो अनुरोध गर्दछ कि तराई मधेशमा भइरहेको आन्दोलनका क्षेत्रमा गई संयुक्त रूपमा त्यहाँका जनताहरूलाई समयमै सम्बोधन गर्न पनि विन्रम अनुरोध गर्दछ । 
नेपालको मधेशमा भइरहेको आन्दोलन र नेपाल एवं भारतीय नाकामा मधेश केन्द्रित आन्दोलनरत पार्टीद्वारा गरिएको नाका अवरोधका कारण नेपाली सञ्चार माध्यम, राजनीतिक नेतृत्व, राजनीतिक विश्लेषक तथा विभिन्न सामाजिक सञ्जालमा देखिएका अधिकांश क्रिया प्रतिक्रियाहरू नेपालको कूटनीतिक, राजनीतिक, बौद्धिक र सामाजिक मर्यादा भन्दा बाहिर गएको र भावनामा आई टीका टिप्पणी गरिएका विषयहरूको रूपमा हामीले अनुभव गरेका छौँ । यसले दीर्घकालिन रूपमा नेपालको हितभन्दा समस्या बढाउने नै देखिन्छ, त्यसैले प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल भावनामा नआई सत्यतथ्य पत्ता लगाई आवश्यक विषयमा मात्र आफ्नो सन्तुलित प्रतिक्रिया दिन आग्रह गर्दछ ।  
केही अन्तर्राष्ट्रिय शक्तिहरू जसले नेपाल–भारतको सुमधुर सम्बन्धलाई हेर्न चाहदैनन् त्यस्ता शक्तिहरूले हामी दुई देशको सम्बन्ध बिगार्न संविधानमा निम्नलिखित शब्दहरूको प्रवेश गराए । जस्तै– खस–आर्य भन्ने सभ्यताको प्रतीकलाई जातिवाचक बनाई कित्ताकाड गराए साथै कसैलाई मधेशी, पहाडी, दलित, आदिबासी, जनजाति, वैदिक, अवैदिक भनी कित्ताकाड गरी छुट्याउने प्रपञ्चमा केही हदसम्म सफल भएका छन् ।
 नेपालको वर्तमान संकटपूर्ण अवस्था आउनु नेपाली राजनीतिज्ञ र भारतीय कूटनीतिज्ञहरूको पूर्ण असफलताको परिणाम हो । त्यसतर्फ नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वको पनि गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।  देशको यस संवेदनशील अवस्थामा नेपाल र भारतको उच्च राजनीतिक नेतृत्वले इमान्दारिताका साथ नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र सुरक्षा र लोकतान्त्रिक पद्धतिको उच्च सम्मान गर्दै वर्तमानमा उत्पन्न भएका समस्या समाधानमा तुरुन्त पहल गर्नु नै दुबै देशको हितमा हुनेछ । त्यस दिशामा अगाडि बढ्न प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वलाई आग्रह गर्दछ । 
“हिमाल पहाड तराई–हामी सबै दाजुभाई÷कोही छैन पराई” भन्ने परिषद्को मूल नाराको मर्म अनुरूप सामाजिक सम्बन्ध÷सद्भाव नखल्बलियोस्, साम्प्रदायिक सहष्णिुता कायम रहोस् एंव हिंसायुक्त आन्दोलन नहोस्, नेपाली समाजको विशेषता नबिग्रियोस् र सबै छिमेकी देशहरूसंग सुमधुर सम्बन्ध भइरहोस् भन्नेमा हाम्रो विशेष आग्रह छ् । यस प्रति ध्यान दिनुहुन सम्पूर्ण नेपाली नागरिकहरूमा विनम्र अनुरोध गर्दछ । 
अन्तमा परिषद्का सम्पूर्ण सदस्य, कार्यकर्ता तथा आम् नेपाली जनतामा  यो विनम्र अनुरोध गर्दछ कि जाती, भाषा, भूगोल एवं कुनै पनि समुदाय एवं वर्गको भावना प्रति ठेस पुग्ने खाले कुनै पनि प्रकारको अशोभनीय टिप्पणी जुन कुनै माध्यम सामाजिक संञ्जाल, सञ्चार माध्यमबाट नगर्न हार्दिक अनुरोध गर्दछौं् । साथै राष्ट्र र राष्ट्रियतामा आँच आउने किसिमका गतिविधि तथा कुनै पनि टिका टिप्पणीहरू नगरीदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं । अहिलेको समय संयमता अपनाउने बेला हो । साथै सामाजिक सञ्जालमा आएका अभिव्यक्ति, सञ्चार माध्यममा प्रकाशित र प्रसारित भइरहेका अनावश्यक र बढाइ–चढाई गरी प्रायोजित समाचारहरूका आधारमा तथा कुनै दल, समूह विशेषको भनाई र सुनाईमा लागेर आफ्नो धारणा नबनाउन पनि सबैलाई हार्दिक अनुरोध गर्दछ । 
                                                     नेपाल आमाको–जय !



  रमेश कण्डेल
राष्ट्रिय महासचिव

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH