मृगनयनी भनेर आँखाको सौन्दर्यमाथि धेरै लेखिएको छ । मृगका जस्ता नयन बनाउनका लागि अचेल बजारमा सौन्दर्य सामग्रीहरु प्रशस्तै उपलब्ध छन् । तीनलाई उपयुक्त ढंगले प्रयोग गर्दा आँखालाई आकर्षक बनाउन सकिन्छ ।
आँखाको बनावट, छालाको रंग, आँखाको नानीको रंगलाई ध्यानमा राखेर आई मेकअपका लागि सौन्दर्य सामग्रीहरु बनेका छन् । मस्कारा, आइस्याडो, लाइनर आदिको प्रयोग गरेर आफूलाई मृगनयनी बनाउन धेरै महिला उद्धत छन् यस्तो सौन्दर्य प्रशाधनहरु उचित तरिकाले प्रयोग गर्नाले मात्रै सुन्दर देखिन सक्छ ।। झट्ट हेर्दा प्रायः सबैको नजर आँखामा पर्ने हुँदा पनि आँखाको उचित स्याहार र मेकअप महिलाका लागि जरुरी छ ।
थोरै मेहनतबाट आँखालाई सुन्दर बनाउँदा अनुहार नै खुलेको देखिन्छ । आइलाइनरको प्रयोगबाट आँखाको सुन्दर आकार बन्छ । झनै मस्काराको प्रयोगबाट आँखा नै ठूलो र खुल्ला बनाइदिन्छ ।
आँखाको मेकअपमा ध्यान दिनुपर्ने कुरा र्सवप्रथम त आँखा अति नै संवेदनशील अंग भएकोले यसको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्नु अति आवश्यक हुन्छ । तसर्थ प्रतिष्ठित कम्पनीका स्तरीय प्रशाधनहरुको प्रयोग गर्नु जरुरी हुन्छ । साथै प्रयोग गरेपछि ती प्रशाधनहरु जतनसाथ सुरक्षित रुपमा राख्ने गर्नुपर्छ ।
आई मेकअप गर्दा अगाडिको बिग्रिसकेको मेकअप हटाउनुपर्ने हुन्छ । त्यस्तै मेकअपपछि अनावश्यक ठाउँमा भएको मेकअप पनि हटाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा हल्का तरिकाबाट आइमेकअप रिमुभर वा रोगन बदाम वा क्लिजिङ क्रिमको प्रयोग गरी कटनको सहायताले हटाउनुपर्छ । यसपछि आइब्रोको सन्तुलित आकार बनाउनुपर्छ । यदि जरुरी छ भने आइब्रो पेन्सिल वा आइब्रो कलर प्रयोग गरी सन्तुलित आइब्रो सेप बनाउनुपर्छ । यसबाट आँखा सुन्दर र सन्तुलित देखिन्छ ।
आइस्याडो लगाउँदा आफूले लगाउने ड्रेससँग मेल खाने गरी लगाउनुपर्छ । सकेट लाइनमा डार्क कलरको स्याडोको प्रयोग गर्नु उचित हुन्छ । यसले आँखालाई सुन्दर आकार दिन मद्दत गर्छ । आइब्रो बोनमा भने हल्का साइनिङ सेडको हाइलाइटरको प्रयोग गर्नुपर्छ ।
आइलाइनर मसिनो वा मोटो लाइनमा लगाउन सकिन्छ । यसले आँखा खुलेको र राम्रो देखिन्छ । तसर्थ आँखाको बाहिरी लाइनर हल्का उठाएर लगाउनुपर्छ । इच्छाअनुसार लामो वा छोटो बनाउन पनि सकिन्छ । लिक्विड, केक वा पेन्सिल लाइनरमध्ये जुन सजिलो छ त्यसको प्रयोग गरे हुन्छ । आइलाइनरहरु नीलो, खैरो, कालो, प्याजी, हरियो आदि विभिन्न रंगहरुमा पाइने हुनाले सुहाउँदो रंगको आइलाइनर छान्न सकिन्छ ।
मस्कारा पनि विभिन्न रंगमा पाइन्छ । यसलाई पहिले माथिल्लो परेलामा माथिपट्टि घुमाउँदै लगाउनुपर्छ । तलपट्टको परेलामा लगाउँदा हल्का दायाँबायाँ र तलपट्टि फर्काएर लगाउनु बेस हुन्छ । यसरी नै गाजल लगाउँदा प्रायः तलपट्टि भित्रबाट लगाइन्छ । तर आँखालाई ठूलो देखाउन हल्का बाहिरबाट लगाउनु राम्रो हुन्छ । साथै आँखाको माथितिर पनि लगाउँदा राम्रो हुन्छ ।
त्यस्तै आँखिभौं पातलो भएमा नक्कली आँखीभौं टाँस्न सकिन्छ । आँखीभौंसँगै फल्स आइलैसेर कस्मेटिक ग्लुको सहायताले टाँस्नुपर्छ । परेलालाई आई लासेस कर्लरको सहायताले माथितिर फर्काउन सकिन्छ । यदि परेला छोटो छ भने कर्लरको प्रयोग गर्दा झन् छोटो हुन्छ, तसर्थ छोटो परेलामा कर्लरको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
आँखाको सौन्दर्य वद्धिका लागि अन्य साधनहरु टीका, स्टिकरजस्तै आई एसेसरिज पनि प्रयोग गर्न सकिन्छ । परिस्थिति र आवश्यकताअनुरुप आई एसेसरिजको प्रयोग गर्नुपर्छ । प्रकृतिको उपहार आँखाको आकारप्रकारमा कुनै परिवर्तन गर्न सकिन्न तर पनि मेकअपबाट सुन्दर ढंगले सजाउन र आकर्षक बनाउन भने सकिन्छ । समय, उमेर, समारोह, वातावरण आदिलाई ध्यानमा राखेर आई मेकअप गर्नु उपयुक्त हुन्छ ।
0 comments:
Post a Comment