Monday, October 19, 2015

                                                                                                                                नारायण प्रसाद ढकाल


नारायण प्रसाद ढकाल
भारतवर्षको वर्तमानमा बंगालको माटोमा विश्वनाथ दत्त र माता भूवनेश्वरी देवीको कोखबाट वि.स. १९२० मा आजभन्दा १५० वर्ष अगाडी स्वामी विवेकानन्दले यस धर्तीमा पाइला टेकेका थिए । बाल्यकालमा नरेन्द्रनाथको नामले परिचित स्वामी विवेकानन्दमा अत्यन्तै चञ्चल स्वभाव, तीक्ष्ण बुद्धि, तर्कशीलता, प्रयोगात्मक ज्ञान, तेजस्वी जस्ता गुण सँगै उनीमा खेलकूद र मैदानी गतिविधिमा बढी रूचि थियो । विवेकानन्दमा जन्मजात आध्यात्मप्रति आस्था, प्राचीन, धार्मिक,  परम्परा एवं विश्वासप्रति सम्मानको भावनाको कारणले नै उनीमा सानै देखि ईश्वर प्राप्तिको तीव्र इच्छा थियो । जसको कारण विभिन्न विद्वान् एवं धार्मिक गुरूहरूको साहित्य खोजिरहन्थे, पढिरहन्थे, आफ्नो प्रश्नको सन्तोषजनक उत्तर नमिलेसम्म खोजिरहन्थे । उनमा एक ऋषि प्रवृत्तिको बानी थियो । 

१८ वर्षको उमेरमा आफ्ना मनका अनेक आध्यात्मिक प्रश्नहरूको निराकरण गर्ने खोजमा विवेकानन्दजीको भेट महान् विद्वान् श्री रामकृृष्ण परमहंससँग भयो । भारत वर्षका महान् सन्त एवं विद्धान् स्वामी परमहंससँग  विवेकानन्दले प्रश्न गरे – महाराज ! के तपाँईले ईश्वरलाई देख्नुभएको छ ? रामकृष्ण    परमहंसले सहजै उत्तर दिए– हो ! मैले भगवान्लाई    त्यसरी नै देखेको छु जसरी मैले तिमिलाई देखेको छु, त्यो भन्दा नजिकबाट । विवेकानन्द त्यतिखेर सम्म नरेन्द्रकै नामले परिचित थिए र गुरु रामकृष्णको दृढ विश्वास र स्पष्ट उत्तरले गर्दा उनीलाई आस्वस्थ बनायो र श्री  रामकृष्ण परमहंसको शिष्यका रूपमा प्रशिक्षण प्रारम्भ     गरे । जसरी श्री रामकृष्णले नाना प्रकारले नरेन्द्रनाथको परीक्षा लिए, त्यसरी नै नरेन्द्रनाथले पनि गुरु रामकृष्णलाई परीक्षा दिँदै गए । वि.स. १९४१ मा विवेकानन्दजीले पिताजीको देहान्त पछाडी केही पारिवारिक कठिनाइलाई आत्मसात गर्नुप¥यो । केही कष्ट सहन गर्नुप¥यो । त्यस परिस्थितिमा पनि उनले देवीको प्रार्थना गर्दा आफ्नो कष्टलाई निराकरणको आशीर्वाद नमागी ज्ञान, वैराग्य र शक्तिको प्राथना गरिरहे । गुरु रामकृष्णको सानिध्यमा बसेर विवेकानन्द लगभग समाधी नजिक पुगिसकेका थिए । एक दिन उनले अब मलाई निर्विकल्प समाधीको कृपा गर्नुहोस् भन्दा गुरु रामकृष्णले उनलाई केही कडा शब्दमा भने–अरे बुुद्धु मलाई त तिमीप्रति ठूलो आशा रहेको थियो कि तिमी एक वरवृक्ष जसरी विशाल रूप धारण गरेर सम्पूर्ण संसारको समस्या, दुःख कष्टलाई निराकरणको माध्यम बन्छौँ । तिमी त समाधीमा गएर आफ्नो मुक्तिको मात्र कुरा गर्छौ । तिमीले आफ्नो मात्र मुक्तिको बाटो खोज्ने होइन तिमीले त यो संसारलाई नै मुक्तिको मार्ग देखाउनु छ त्यसैले तिमी त्यो बाटो तर्फ अगाडी  बढ । गुरुजीका यी वचन सुनिसकेपछि स्वामीजीको मनमा तुरुन्त नयाँ विचारको प्रवाह भयो र उनले विश्वमा नै पूर्वीय दर्शनको प्रचार–प्रसार गर्ने, युवाहरूमा राष्ट्रिय चेतनाको र आध्यात्मिक चेतनाको विकास गर्ने संकल्पका साथ विश्व यात्रामा निस्किए । 

यूवाहरूको लागि उनले आह्वान गरे – “पश्चिमी जगत एक ज्वालामुखीमा खडा छ जहाँ कुनै पनि समयमा बिस्पोट हुन सक्दछ, त्यसैले यूवाहरू हो ! विश्वलाई जित्नको लागि उठ, जाग नयाँ सोच र उत्साहका                  साथ ।”सन् १८९३ सेप्टेम्बर ११ मा अमेरिकाको सिकागोमा विश्वका विभिन्न धर्म र सम्प्रदायका करीब ७००० विद्वान्हरूको बीचमा पहिलो पटक विदेशी भूमिमा त्यति ठूलो संख्यालाई सम्बोधन गर्ने क्रममा स्वामी विवेकानन्दमा केही घवरावट भए पनि मन र वाणी कि देवी सरस्वती मातालाई स्मरण गरी आफ्नो भाषण प्रारम्भ गर्दा    “अमेरिका निवासी बहिनी र भाइहरू” भन्दा २ मिनेट सम्म करतल ध्वनी कार्यक्रम स्थानभर गुञ्जियो । धर्मसभाको स्वमीज्यूको पहिलो भाषणले उहाँलाई ठूलो ख्याती दिलायो, सबैमा नयाँ विचारको बीजारोपण गरायो जसले गर्दा अमेरिकाका सयौँ करोडपतिहरू उनका अनुयायी बने, उनका भक्त बने, उनका प्रशंसक बने । धेरैले  आ–आफ्नो घरमा जानका लागि आग्रह गरे, स्वामीजीको सेवा गर्ने अवसरका प्रतिक्षा गरिरहे । यात्रा कै क्रममा स्वामीजी एकजना अमेरिकिको घरमा बस्नुभयो,  त्यहाँको भौतिक सुख सुविधा न त स्वामीजीलाई चाहना थियो न त त्यसले स्वामीजीलाई कुनै प्रभाव नै पार्न सक्यो, सोही बसाइको क्रममा नै एक दिन आफ्नो कोठामा बसिरहेको अवस्थामा त्यो सबै भौतिक सुखमा पनि स्वामीजीको अखाँबाट रातभरी बच्चा जस्तै आँसू आइरहे । स्वामीजीलाई अर्को दिन उनका शिष्यले राती तपाँईलाई के भयो ? केही कमी भयो कि भन्दा विवेकानन्दले भन्नुभयो –“म मेरा भारतवासीहरूलाई सम्झिरहेको छु । मेरा भारतबासीका समस्या, गरीबि र दुःख कष्टबाट कसरी माथि उठाउन सक्छु भनेर सोचिरहेको थिए । यहाँ यसरी सुख र भौतिक सम्पन्नतामा बसिरहेको छु तर मेरा लाखौँ दाजुभाई र भारतवासीहरू दुःख कष्टमा बाँँचिरहेका छन् तिनिहरूको पीडालाई सम्झेर रोइरहेको छु ।” यसरी भौतिक सम्पन्नतामा बस्दा पनि उहाँमा झन् राष्ट्रभक्तिको भावना र मातृभूमि प्रतिको आस्था बलियो भएर आयो । धर्मसभामा उपस्थित सबैका लागि उनी एक आदर्श व्यक्ति स्वामी विवेकानन्द बने । त्यस धर्मसभामा स्वामीजीको उपस्थिति भारतवर्षको पुनःउत्थानको ऐतिहासिक कोसेढुङ्गा सावित भयो ।

३÷४ वर्षको अवधिमा विश्वका विभिन्न राष्ट्रमा ज्ञान बाँड्ने कार्य गरेपछाडी स्वामीजी विदेशको सम्पूर्ण  सुख, सम्मान र प्रतिष्ठालाई छोडेर १५ जनवरी १८९७ आफ्नो देश भारत फर्कनुभयो । देशभर स्वामीजीको भव्य स्वागत भयो । पत्रिकाले वहाँको आगमनलाई कुनै व्यक्तिको स्वदेश वापसी नभएर भारतको आत्माको वापसी भनेर लेखे, विजयी पूरुषको भव्य स्वागत भयो, स्वामीजीको भारत आगमन पछाडी शिक्षा, संस्कृति, विज्ञानको विकासको लागि युवाहरूमा जागरण ल्याउने  कार्य निरन्तर चलिरह्यो । भारतवासीको आत्मा जगाए सम्पूर्ण भारतवासीमा राष्ट्रियताको भावना, स्वसंस्कृतिप्रति सम्मान र संरक्षणका भावना जागृत गर्ने कार्यहरू भइ नै रह्यो । सम्पूर्ण युवाहरूलाई राष्ट्र निर्माणको लागि निरन्तर प्रेरणा दिने कार्यहरू भए । स्वामीजी भन्नुहुन्थ्यो – “धर्म नै भारत वर्षको प्राण हो । जबसम्म हामी हिन्दू जाति आफ्नो पूर्वजका विचार र उनीहरूले आर्जन गरेका धरोहरलाई भुल्दैनौँ तबसम्म विश्वको कुनै पनि शक्तिले हामीलाई कमजोर बनाउन सक्दैन ।” जबसम्म शरीरको रगत शुद्ध र शसक्त रहन्छ तबसम्म शरीरमा कुनै पनि रोगको किटाणुले आक्रमण गर्न सक्दैन । हाम्रो  शरीरको रगत भनेको अध्यात्म हो । जबसम्म यो निर्वाध गतिले सशक्त शुद्ध तथा जीवन्तता संग प्रवाहित हुनेछ, तबसम्म हाम्रो शरीर स्वस्थ्य रहनेछ । राजनीतिक, सामाजिक र देशको आर्थिक अवस्थाको विकास  राम्रोसँग हुनेछ । यसरी नै स्वामी विवेकानन्दले सधैँ युवाहरूलाई आफ्ना राष्ट्रिय विभूतिहरूलाई सम्मान र उनीहरूको आदर्शलाई अनुकरण गर्ने प्रेरणा दिए । सिंह गर्जना जस्तै आफ्नो श्रीकृष्णको गीतासारलाई देशभर प्रचार–प्रसार गर्न आग्रह गरे । हिनतालाई त्यागेर पूर्ण आत्मविश्वासका साथ आध्यात्मिक शक्तिको आधारमा सर्वगुण सम्पन्न राष्ट्र निर्माण गर्ने दिशामा एकजुट भइ अग्रसर हुनका लागि निरन्तर युवाहरूलाई प्रेरणा प्रदान गरिरहे ।  

विवेकानन्नदले युवाहरूलाई प्रेरणा दिने क्रममा भन्ने गर्दथे –“मेरो विश्वास युवा पिँढिमा छ, आधुनिक पिढिँमा छ, त्यसबाट असल कार्यकर्ता प्राप्त हुन्छन् । उनीहरूले सिंहले जसरी सबै समस्यालाई सजिलै हल निकाल्न सक्दछन् ।” महान् राष्ट्रिय कार्य गर्न युवाहरूमा तीन आवश्यकताको आग्रह गर्दै स्वामी विवेकानन्द युवाहरूलाई भन्ने गर्दथे –“हृदयबाट देशको अवस्थालई अनुभव गर, समस्याको समाधानको लागि उपाय खोज र ज्ञान, पवित्र उद्देश्य, इमान्दारिता र इच्छाशक्ति राखेर अगाडि बढ, जसबाट अनेक वैचारिक र परिवर्तनका आन्दोलनहरू, सेवा कार्य गर्ने हजारौँ लाखौँ हातहरू तयार हुनेछन् ।” यो चिन्तनले पछाडी आएर साँच्चिकै जागरणको कार्य ग¥यो जसबाट भारतको पुनःउत्थान भयो । स्वामी विवेकान्दजीले अनेक वैदिक विद्यालय सञ्चालन गर्ने, सेवा कार्य गर्ने हजारौँ आफ्ना शिष्य र उत्तराधिकारी तयार गरेर वि.सं. १९५७ आषाढ कृष्ण त्रयोदशीका दिन आफ्नो भौतिक शरीर छोडेर अनन्तमा विलिन भए । भारतको स्वतन्त्रता आन्दोलन देखि लिएर सम्पूर्ण राष्ट्र निर्माणको प्रयासमा सबैले स्वामी विवेकानन्दबाट प्रेरणा लिए र आज पनि सम्पूर्ण विश्वमा चिन्तनशील र राष्ट्रप्रेमी व्यक्तिहरूले उनीबाट प्रेरणा लिइरहेका  छन् । आज उनको १५०औँ जन्मजयन्तीको यो अवसरमा नेपालका युवाले पनि स्वामी विवेकानन्दले गरेको   राष्ट्रप्रतिको प्रेम, त्याग, समर्पण, उत्साह, जोश र    निरन्तर क्रियाशील हुने प्रेरणा लिएर उनले भने जस्तै –उठौँ, जागौँ देशका नव जवानहरू आफ्नो लक्ष्यसम्म” भन्ने मन्त्रलाई आत्मसात गरी अगाडी बढेमा सबै नेपालीले कल्पना गरेको समृद्ध नेपाल निर्माण गर्न धेरै समय लाग्दैन । मात्र खाँचो छ स्वामी विवेकानन्दको चिन्तन, विचार र पे्ररणाको । 

(यो लेख प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय सह–संगठन सचिव नारायण प्रसाद ढकाल द्धारा लेखिएको हो)

0 comments:

Post a Comment

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH