Thursday, July 27, 2017

विवेकशील साझा पार्टीलाई शुभकामना र “जरो किलो” विश्लेषण :—
विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण भएर विवेकशील साझा पार्टी बनेको समाचार आएको छ । नयाँ पार्टीलाई शुभकामना !
हामी जहिले पनि एकता, समन्वय, सहृदयतालाई अवलम्बन गर्ने प्रवृत्तिका भएका हुनाले जो कोही पनि अलग अलगबाट एकमा मिल्नेहरुलाई शुभकामना दिने गरेका छौँ । विगतमा उपेन्द्र यादव र अशोक राई लगायतका राजनीतिकर्मीहरु मिलेर संघीय समाजवादी फोरम बनाउँदा र महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका राजनीतिकर्मीहरु मिलेर राष्ट्रिय जनता पार्टी बनाउँदा पनि हामीले शुभकामना दिएका थियौँ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराई लगायत राजनीतिकर्मीहरु मिलेर एकीकृत कुनै पार्टी बनाउँदै छन् भन्ने समाचार आउँदा पनि हामीले शुभकामना दिएका थियौँ । भविष्यमा पनि टुक्राटाक्री पार्टीहरु मिलेर ठूलो पार्टी बनाउने प्रयत्न गर्ने सबैथरिलाई हाम्रो शुभकामना छ ।
यद्यपि, शुभकामना दिँदैमा आधारभूत सवालहरु नगरिने भन्नेचाहिँ होइन नि ! आधारभूत सवालहरु त ज्यूँकात्यूँ रहन्छन् । जस्तै —
विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण भएर जुन विवेकशील साझा पार्टी बनेको छ, तेसको “जरो” (Root) र “किलो” (Locus) नेपालमा छ कि अन्यत्रै ?
हिजो पार्टी एकीकरणपश्चात् आज बिहान एउटा रेडियोमा विवेकशील साझा पार्टीका सहसंयोजक रवीन्द्र मिश्रको भनाइ निम्नानुसार थियो —
(१) विवेकशील साझा पार्टीले लोककल्याणकारी व्यवस्था मान्छ, त्यो भनेको समाजवादी व्यवस्थासँग निकट छ ।
(२) विवेकशील साझा पार्टी स्केन्डिनेभिएन देशमा जस्तो व्यवस्था छ, तेस्तै व्यवस्था नेपालमा पनि लागू गर्न चाहेको हो ।
(३) सिद्धान्त त सबै पार्टीका राम्रै छन्, तर व्यवहार मात्र गलत हो । विवेकशील साझा पार्टीका नेताले जे भन्छौँ, तेही गर्छौँ ।
सहसंयोजक मिश्रका भनाइका आधारमा अब विश्लेषण गरौँ —
(१) जब समाजवाद नै विवेकशील साझा पार्टीको मान्यता हो भने त्यो समाजवाद मान्ने पार्टीहरु नेपालमा पहिल्यै बग्रेल्ती छन् । तसर्थ, विवेकशील साझा पार्टी कदापि “नयाँ” होइन, बरु हामीले भन्दै आएको “कपू” गुटकै थप एउटा प्रकोष्ठ हो, जसको नामपट्ट (साइनबोर्ड) मात्र फरक छ र सारमा चाहिँ कांग्रेस, एमाले, माओवादी, नवगठित राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम आदि इत्यादिजस्तै पराइ स्रोतबाट राजनीतिक दर्शन ल्याएर नेपालमा पराइ प्रतिमान (Exogenous Paradigm) कै प्रभुत्व कायम राख्ने प्रपञ्चको मतियार मात्र हो ।
(२) जब कसैले विदेशी विधर्मीलाई प्रमुख प्रतिमान (Dominant Paradigm) बनाउँछ नि, तेसले घुमाइ फिराइ अन्ततोगत्वा विदेशी विधर्मीकै ताबेदारी गर्छ । विगतमा नेपाललाई कसैले इण्डियाजस्तो, कसैले चाइना जस्तो, कसैले सोवियत संघजस्तो, कसैले सिंगापुरजस्तो, कसैले स्वीजरल्याण्डजस्तो आदि इत्यादि भनेर आज नेपाललाई अहिलेको दुरवस्थामा पुर्याए । अब विवेकशील साझा पार्टीले नेपाललाई स्केन्डिनेभियन देशहरुजस्तो बनाउने भन्नुको तात्पर्य उही पराइ प्रतिमान (Exogenous Paradigm) मा आधारित “कपू” सिण्डिकेटकै थप एउटा कारिन्दाहरुको झुण्ड तयार गर्न खोजेको देखिन्छ । नवगठित विवेकशील साझा पार्टीको पनि “जरो” (Root) र “किलो” (Locus) नेपालमा रहेनछ भन्ने तथ्यको थप प्रकटीकरण हो यो ।
(३) सिद्धान्त त सबै पार्टीका राम्रै छन्, तर व्यवहार मात्र गलत हो भन्ने उनको भनाइबाट पनि के प्रष्ट हुन्छ भने एक त नवगठित विवेकशील साझा पार्टीसँग सैद्धान्तिक प्रष्टता छैन र अर्कोचाहिँ त्यो पार्टीसँग कुनै मौलिक सिद्धान्त छैन र उही पुरानै “कपू” सिद्धान्तलाई नयाँ प्याकेजिङ् सहित बेच्ने कसरत मात्र भएको हो । तुलनाको लागि जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति लाई हेरौँ त — लक्ष्य (वैज्ञानिक सत्ययुग), आधारशिला चतुष्टय (विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक, सहृदयताको सम्बन्ध), सिद्धान्त (राज्यराष्ट्र) एवं सांगठनिक पद्धतिमा समेत मौलिकता छ । उक्त तथ्यले पनि नवगठित विवेकशील साझा पार्टीको पनि “जरो” (Root) र “किलो” (Locus) नेपालमा रहेनछ भन्ने तथ्य नै उजागर हुन्छ ।
सोझै भनौँ — विवेकशील साझा पार्टी वास्तवमा कांग्रेस, एमाले आदि जस्ता “कपू” पार्टीहरुकै सानो अंश मात्र हो । तसर्थ, प्रतिमान (Paradigm) परिवर्तन एवं नेपालकै मौलिक रैथाने प्रतिमान (Indigenous Paradigm) स्थापना गर्न चाहने अग्रणी व्यक्तिहरुका लागि विवेकशील साझा पार्टी पनि उसरी नै त्याज्य छ, जसरी “कपू” सिण्डिकेटका पुराना पार्टीहरु त्याज्य छन् । नेपालको वर्तमान आवश्यकता “जरो” र “किलो” नेपालमै रहेको मौलिक रैथाने शक्ति नै हो ।
(“कपू” = कम्युनिस्ट + पूँजीवादी)

1 comment:

  1. Harrah's Hotel Casino and Racetrack - MapyRO
    Harrah's 진주 출장마사지 Hotel Casino and 김제 출장샵 Racetrack features over 1,000 남원 출장안마 square feet 충청남도 출장마사지 of casino 하남 출장안마 space; a seating area, a large, wood-burning grill, and a

    ReplyDelete

Design by Dhiren Chand Sodari | E-Mail Address: pvpdhirennp@yahoo.com GYF TECH