भनिन्छ, रक्तदानः जीवनदान ।
अमेरिका ब्लड सेन्टरका अनुसार अस्पताल भर्ना हुने बिरामी मध्ये १० जनामा एक जनालाई रगतको आवश्यकता पर्छ । विभिन्न अनुसन्धानहरुले एक पिन्ट रगतले कम्तीमा तीनजनाको ज्यान बचाउने देखाउँछन् ।
अमेरिकामा हरेक दुई सेकेन्डमा कम्तीमा एकजनालाई रगत आवश्यक पर्छ ।
नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय
रक्तसञ्चार सेवाका अनुसार काठमाडौंमा दैनिक दुई सयदेखि तीन सय युनिट रगत र
५० देखि ६० युनिट रक्ततत्व आवश्यक पर्छ । काठमाडौं, पोखरा र चितवन देशका
सबैभन्दा बढी रगत अभाव हुने शहर हुन् ।
कसैलाई आपतकालीन रगत चाहियो वा रगत नपाएर
आपतमा परेकालाई सहयोग गर्न मन लाग्यो भने केही वेबसाइटको प्रयोग गर्न
सकिन्छ, जसको यहाँ चर्चा गरिएको छ ।
हाम्रो ब्लड डट ओआरजी
हाम्रो ब्लड डट ओआरजी स्वयंसेवी रक्तदाताहरुको समूह हो । पोखराको संकल्प
नामको गैह्रसरकारी संस्थाले सञ्चालन गरेको यो वेबसाइटमा हालसम्म ९ सय
भन्दा बढी रक्तदाता आवद्ध छन् । पोखरा कार्यक्षेत्र बनाएर विभिन्न पेशामा
संलग्न युवाहरु संकल्प नामक संस्था मार्फत समाजसेवा गरिरहेका छन् ।
संकल्पका अध्यक्ष सुरज अर्याल हाम्रो
ब्लडलाई नेपालको सबैभन्दा ठुलो रक्तदाताको नेटवर्क बनाउन आफ्नो संस्थाले
विभिन्न काम गरिरहेको बताउनुहुन्छ ।
‘इन्टरनेटमा रक्तदाताको समुदाय बनाउने
प्रयास पहिला पनि भएकै हुन् । तर धेरैजसो लामो समय चल्न सकेनन्’, अध्यक्ष
अर्याल भन्नुहुन्छ, ‘हामी उनीहरुका कमजोरीबाट पाठ सिकेर काम गर्दै छौँ ।’
हाम्रो ब्लडले एसएमएसबाट पनि रक्तदाता
खोज्न सकिने व्यवस्था गरेको छ । त्यसका लागि संकल्पलाई सहयोग गर्यो
काठमाडौंको जानकी टेक्नोलोजीले ।
अर्याल भन्नुहुन्छ, ‘तपाईँले एसएमएस
गरिसकेपछि हाम्रो वेव एप्लिकेसनले रक्तसमुहमा सुचिकृत र समुदायमा आवद्ध
सदस्यबाट केही स्वयंसेवी रक्तदाताको मोबाइल नम्बर प्रदान गर्छ ।’
नेपाल ब्लड डोनर्स एशोसिएसन
नेपाल
ब्लड डोनर्स एशोसिएसनको वेबसाइटमा देशका विभिन्न भागका झण्डै १२ सय
रक्तदाताको विवरण छ । एशोसिएसनका अध्यक्ष महेन्द्रविलाश जोशीका अनुसार
उनीहरु जुनसुकै बेला रक्तदानका लागि तयार हुन्छन् ।
‘वेबसाइटमा रक्तदाताको विवरण अद्यावधिक
गर्न सकेका छैनौँ’, जोशी भन्नुहुन्छ, ‘हाल दर्ता रहेका रक्तदाताहरु रगत
आवश्यक हुनेले सम्पर्क गरेमा सम्भव भएसम्म उपलब्ध हुनुहुन्छ ।’
एशोसियशनले सन् २००७ देखि रक्तदाताका लागि
अनलाइन रजिस्ट्रेसनको व्यवस्था गरेपनि आर्थिक अभावका कारण अद्यावधिक गर्न
नसकेको जोशीको भनाई छ ।
नेपाल ब्लड बैंक डट ओआरजी
काठमाडौंको
स्मार्ट च्वाइस् टेक्नोलोजी नामक संस्थामा कार्यरत चितवनका विकास बास्तोला
विगत तीन वर्षदेखि नियमित रक्तदान गर्नुहुन्छ । उहाँले नेपाल ब्लड बैंक डट
ओआरजीमा आफ्नो सम्पर्क ठेगाना र मोबाइल नम्बर समेत दर्ता गर्नुभएको छ ।
‘कम्तीमा हरेक चारचार महिनामा मैले रक्तदान गर्छु’, बास्तोलाले भन्नुभयो, ‘कुनै संस्थासँग आवद्ध छैन । रक्तदान स्वयंसेवा हो ।’
बस्तोलाले रजिस्ट्रेसन गरेको वेबसाइट पनि
अद्यावधिक छैन । नयाँ रक्तदाताहरुका लागि रजिस्ट्रेसन गर्न वेबसाइटमा अप्सन
छ तर यसले काम गर्दैन । वेबसाइटमा जिल्ला र रक्तसमूह अनुसार रक्तदाता
खोज्न सकिन्छ । जहाँ उनीहरुको मोबाइल नम्बर सहितको विवरण राखिएको छ ।
यूथ फर ब्लड डट ओआरजी
बिराटनगरका
केही उत्साही युवाले दुई वर्षअघि सुरु गरेको यूथ फर ब्लड डट ओआरजीमा हाल
१५ हजार भन्दा बढी रक्तदाता आवद्ध छन् । यो वेबसाइटमा संस्थाका
प्रतिविधिहरुको सम्पर्क नम्बर दिइएको छ जसको माध्यमबाट काठमाडौं उपत्यका र
पूर्वाञ्चलका विभिन्न जिल्लामा रहेका रक्तदाताको सम्पर्क भेट्टाउन सकिन्छ ।
संस्थाका अध्यक्ष सरोज कार्की आफ्नो नेटवर्कमा देशभरका एक लाख रक्तदातालाई समेट्ने उद्देश्यका साथ काम गरिरहेको बताउनुहुन्छ ।
यो वेबसाइटमा पनि रक्तदाताले आफ्नो प्रोफाइल बनाउन सक्छन् ।
**
रगत अन्य सामाग्रीजस्तो उत्पादन गर्न सकिन्न । यसको अभाव पूर्ति गर्ने एउटामात्र विकल्प छ रक्तदान ।
काठमाडौंमा केन्द्रीय रक्तसञ्चार
केन्द्रमा बिहान आठदेखि साँझ ८ बजेसम्म रक्तदान गर्न सकिन्छ । यो बाहेक
विभिन्न संघसंस्थाले गर्ने कार्यक्रममा पनि रक्तदान गर्न सकिन्छ ।
जिल्लाजिल्लामा नेपाल रेडक्रस सोसाइटीका शाखाले पनि रक्तदान कार्यक्रम
गरिरहेकै हुन्छन् । अन्य संस्था पनि यो क्षेत्रमा सक्रिय छन् ।
रगत जोसुकैलाई चाहिन सक्छ तर कहिले चाहिन्छ भन्न सकिन्न । आज तपाईँले रगत दिएर बचाएको मान्छेले भोलि तपाईँकै जीवन रक्षा गर्न सक्छ ।
रक्तदान गर्न सजिलो पनि छ । रक्तदानका
लागि मानसिक रुपमा तयार हुनस्, स्वास्थ्य ठिक राख्नुस्, सम्बन्धित ठाउँमा
गएर दर्ता गर्नुस्, रगत दान गर्नुस् अनि आराम गर्नुस् ।
RSS Feed
Twitter
10:37 AM
Dhirendra
0 comments:
Post a Comment